विमल योगी
दाङ, २९ कार्तिक । घोराही उप महानगरपालिकाले विपद्जन्य घटनाबाट हुने क्षति कम गर्नका लागि स्थानीय सरोकारवालाहरुलाई सचेतना दिन थालेको छ । उपमहानगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा नगरका १९ वटै वडामा सचेतना दिन थालिएको हो ।

वडास्तरीय विपद् व्यवस्थापन समितिलाई विपद्को परिचय, यसका असरहरु, विपद्बाट बच्ने उपायहरु, राहत तथा उद्धारका लागि आवश्यक मापदण्ड, समितिको परिचालन तथा कार्यक्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख मदन कुमार वलीले जानकारी दिनुभयो । वडामा रहेको जनप्रतिनिधि, राजनितिक दल, सुरक्षा निकाय, स्थानीय रेडक्रस, स्वास्थ्य संस्था, प्रहरी, सामाजिक संघसंस्था तथा क्लबहरुका प्रतिनिधि सहितको विपद् व्यवस्थापन समितिलाई पुनर्ताजगी अभिमुखीकरण गराउनका लागि वडा नम्बर १ देखि ८ सम्म कार्यक्रम सम्पन्न गरिसकिएको छ । जस अन्तर्गत वडा नम्बर १ र २ को २ नम्बर वडा कार्यालयमा, वडा नम्बर ३, ४ र १७ को १७ नं. वडा कार्यालयमा, वडा नम्बर ५ र ६ को ६ नम्बर वडा कार्यालयमा, ७ र ८ को ७ नं. वडा कार्यालयमा कार्यक्रम सम्पन्न गरिएको शाखा प्रमुख वलीले जानकारी दिनुभयो ।

७ नम्बर वडाका सदस्य यमकला कुमारी पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विपद् जोखिम न्यूनीकरणका लागि सरोकारवालाहरु एक आपसमा समन्वय र सचेत भएर लाग्नुपर्ने कुरामा जोड दिएका छन् । विपद्जन्य घटना कुनै जानकारी दिएर नआउने भएकाले यसबाट बच्न जोखिम क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य चिज बहादुर चौधरी, वडा नम्बर ८ का वडा सदस्य जंग बहादुर चौधरी लगायतले बोल्नुभएको थियो । वडा नम्बर ७ र ८ का ३० बढीको सहभागिता रहेको कार्यक्रमको सहजीकरण वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका वन प्राविधिक दीक्षा बस्नेतले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस