दाङ, १९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिहरुलाई असर गर्नेगरी विकृति भित्रिन थालेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । पछिल्लो समय तिज पर्वमा भित्रिन थालेको विकृति विसंगति रोक्ने जिम्मेवारी सबैको भएको समेत बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा तिज पर्वको अवसरमा बुधवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तिज संस्कृतिको जगेर्ना गरेर अघि बढ्नु सबैको कर्तव्य भएको बताउनुभएको हो । मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भित्रिन खोजेको विकृति विसंगतिलाई रोक्नेगरी पर्व मनाउन आग्रह गर्नुभएको छ ।‘तिजलाइ भड्किलो बनाउन खोजिएको छ । विकृतिले घेर्न थालेको छ’ उहाँले भन्नुभयो, ‘भड्किलो तिजलाई निरुत्साहित गर्ने जिम्मेवारी सबैको हो । यसतर्फ पनि हामीले ध्यान दिनुपर्ने छ ।’ शुभकामना आदान प्रदान कार्यक्रममा लुम्बिनी प्रदेशका कायम मुकायम प्रमुख सचिव महादेव पन्थ, मन्त्रालयका सचिव लगायत कर्मचारीहरुको सहभागिता थियो । हरितालिका तिजको अवसरमा लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा समेत दिएको छ ।