घोराही, ६ साउन । विद्यार्थीहरुले शिक्षकहरु लागि खेलकुदका कार्यक्रम आयोजना गरी गुरुपूर्णिमा मनाएका छन् । घोराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले गुरुपूर्णिमाको अवसरमा शिक्षकहरुका लागि खेलकुदका कार्यक्रमहरु राखेका हुन् ।
विद्यार्थीहरुद्वारा शिक्षकका लागि आयोजित घैंटा फोड प्रतियोगितामा शिक्षिका किशु खड्का प्रथम हुनुभएको थियो । यसैगरी कुर्सी दौड प्रतियोगितामा शिक्षिका संगिता पौडेल प्रथम, विना खत्री द्वितीय र मिना योगी तृतीय हुनुभएको थियो । सिर्जनशील बाल क्लबका अध्यक्ष स्मारिका चौधरीको अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित गुरुपूर्णिमा विशेष कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुको पूजन तथा विद्यालयलाई राष्ट्रिय झण्डा उपहार प्रदान गरेका थिए ।
नेपाल जुनियर रेडक्रस सर्कलकी उपाध्यक्ष बेबिका श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेत, कार्यक्रम संयोजक बिमला केसी, शिक्षिका मिना योगीलगायतले मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण सिर्जनशील बाल क्लवका सचिव अदिती केसीले गर्नुभएको थियो ।