गोकर्ण पौडेल
राजनीतिको यात्रामा विश्राम भन्ने शब्द नै हुँदैन । कयन पल्ट भोकै पेट सुत्नु परेको छ । जीवन अभावै अभावमा बिताएका भुवनेश्वर साविक पुरन्धारा नेकपा गाउँ कमिटिको अध्यक्ष हुँदै जिल्ला कमिटी सदस्य भएर एक अवधिसम्म काम गरे । फेरि जिल्ला कमिटीबाट धेरै नेता पदोन्नति हुँदै केन्द्रसम्म पुग्छन् तर भुवनेश्वर फेरि साविक पुरन्धारा गाउँ कमिटीमै नेतृत्व गर्नका लागि फर्किए । धेरैले चोकमा चिया पसलमा भन्न थाले यो भुवनेश्वर बौलायो मान्छे केन्द्रमा पुग्छन् फेरि गाउँमै आयो । जब भूगोल र आफ्नै माटोले खोज्यो तब दुनियाको मतलब पछि नलागेर आफ्नै गाउँमा फर्किए भुवनेश्वर । उनी दुनियाको नजरमा बौलाए होलान् तर उनको बौलठ्ठीपनले पुरन्धारा अथात् बबई गाउँपालिकाले मुहार फेर्यो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि गाउँको मुहारै फेरेका छन् । अझै पनि जिल्लाका दुई वटा पालिकाले आफ्नो भवन कहाँ बनाउने भन्ने विषयमा ठाउँकै बारेमा निक्र्यौल गर्न सकेका छैनन् तर उनले भवन मात्रै बनाएनन् पालिकाका लागि आवश्यक पर्ने जग्गाको समेत व्यवस्थापन गरे ।साच्चिकै काठमाडौको सिहंदरबार बबईको हापुरेमै सरेको छ कि जस्तो बनाए । करिब २३ किलोमिटरको दुरी त्यसमा वन क्षेत्र छिचोल्दै दाङकै दुगर्म बस्ती गङटेमा विद्युत पु¥याए, गाउँमै रहेको जनकल्याण माध्यमिक विद्यालय पदमपुरमा कृषि प्राविधिक विषय पढ्न पाउने अवस्था सिर्जना गरे । गाउँका कयन बाटाहरु कालोपत्रे भएका छन् र हुँदैछन् । साच्चिकै भुवनेश्वर गाउँ फर्किएर बौलाएकै हुन् । उनले विकासको जग बसालेकै हुन् ।
उनलाई अभाव के हो ? गरिबी के हो ? सबै बुझेका छन् । श्रम र उत्पादनबाटै देश विकास गर्न सकिन्छ भन्ने उनको मूल ध्येय छ । उनी जनताको काममा सरकारी गाडीमा पनि हुँकिन्छन् बिहानै चार बजे उठेर भैसीलाई दाना पानी,दुध दुहेर चिया पसल पसलमा आफै लिएर पुग्छन् । श्रममा लाज भन्ने उनको शब्दकोषमा नै छैन । उनको दिनचर्या कृषिकर्म र जनताकै सेवामामै रहेको छ । कोरोना कहरका कारण उनी आफै थला परे । आफ्ना जनता कोरोना संक्रमणमा परेका बेला आफै बेड बेडमा पुग्थे । सन्चो बिसन्चो सोध्थे, तपाई बाँच्नुहुन्छ मलाई पनि कोरोना भएको हो, ढुक्क हुनुस् तपाई बाच्नुहुन्छ भन्दै हौसला दिन्थे अनि अस्पतालमा आएका बिरामीहरु कल्पना गर्थे साच्चिकै जनप्रतिनिधि हुनु त भुवनेश्वर जस्ता जो कहिल्यै कोरोना संक्रमणसंग डराएन तर सधै सजक भइरहे ।
संविधान निर्माण पछिको पहिलो स्थानीय तहको निर्वाचन पाँच वर्ष कानुन निर्माणमै बित्यो त्यति मात्रै होइन कोरोना संक्रमणले करिब तीन वर्ष देशमा सन्नाटा छायो । डेराको घरबाट आफ्नै गगनचुम्बी भवन बन्यो । केही सुधारका कामहरु भए । फेरि माटोले भुवनेश्वर खोज्दै छ । उनी गाउँकै सेवाका लागि फेरि बौलाएकै छन्, उनको पागलपन जनताको, माटोको, जन्मभूमिको सेवाका लागि मात्रै हो । जनताकै लागि खटिने भुवनेश्वरजस्ता नेता फेरि नआउन सक्छन् । भुवनेश्वर एउटा अभावसंग बाचेका नेता हुन् । कयन पल्ट विगतमा पार्टी नेतृत्वको कामका शिलाशिलामा उनीसंग एक कप चिया पिलाउने पैसा नि हुँदैनथ्यो काम पनि उल्टै चिया पिलाउनुपर्ने अवस्था समेत हुन्थ्यो । अझै पनि श्रम र श्रमिकलाई प्रेम गर्ने, माटालाई माया गर्ने भुवेश्वर जनतामाझ आएनन् भने गाउँले दुःख पाउनेछ , गरिबी,अभाव र पछ्यौटपनले पछ्याउनेछ । नेता त आउलान् उनले बसाएको जग बढाउन होइन भत्काउने चेष्टा हुनेछ । माटोले धर्तीले असल नेता खोजिरहेछ । त्यो नेतृत्वका गुणमा केही अवगुण पक्कै मिसिएकै होलान् ।
भुवनेश्वर यो देशले खोजेको नेता हो । यस्ता नेता धर्तीमा कमै जन्मिएका हुन्छन् । त्यस्ता नेतृत्वलाई अवसर दिनुपर्छ । अब भुवनेश्वरले बबईमा जग हालिसेकेको अवस्थामा शैक्षिक अवस्था सुधारका लागि गरिब,विपन्न समुदायका बालबालिकाहरुका लागि आवासीय विद्यालयको व्यवस्था गर्नुपर्छ । प्रत्येक घरमा खानेपानी, गाउँमै उद्यमका अवसरहरु दिलाउनुपर्छ । ट्वाङ खोला र च्याटी खोलामा ड्याम बनाएर बबईलाई बाह्रै महिना हरियाली बनाउने चेष्टा गर्नुपर्छ । बजारीकरण हुँदै गएको हापुरेमा सुरक्षा व्यवस्था मजबुत र व्यवस्थित शहरीकरणको अवधारणा अघि सार्नुपर्छ । यहाँका अधिकाशं युवाहरु भारतसहित तेस्रो मुलुकतर्फ आकर्षित भइरहेका छन् । यहाँको पानी र जवानीलाई यही खर्चिने व्यवस्था गर्नुपर्छ । ठुला सपना होइन साना र सुन्दर सपनाबाटै बबईको मुहान फेरिनुपर्छ । यति लेख्दा कसैलाई भ्रम हुन सक्छ कतै नातावाद (नेप्टिज्म) होकि होइन उनीसंग नेपालीमा उखान छ नि गोरु बेचेको साइनो समेत पर्दैन । एउटा नाता छ त्यो हो विचार आस्था अनि अभाव र विपन्नताको नाता पक्कै उनीसंग जोडिएकै छ । उनी भुवन भएरै उदाएका छन् । अझै उदाउन दिनुपर्छ ।