अर्घाखाँची, २९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पीठहरुकाे दर्शन गर्नुभएको छ । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बाेकेका धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य स्थल बनाउनेगरी काम अघि बढेकाे उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका-८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर ३ मा रहेकाे मालारानी मन्दिरको दर्शन गर्नुभएको हाे । लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बाेकेका मठ, मन्दिर तथा सम्पदाकाे संरक्षण, सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेकाे, लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाई जाेड्नेगरी याेजना बनाएकाे छ ।
‘सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरुलाई प्रदेश सरकारले समान महत्त्व दिन्छ । पुरातात्त्विक सम्पदाकाे संरक्षणका लागि सरकारले याेजना बनाउछ’ उहाँले भन्नुभयाे-‘समुदायकाे साथ, सयाेग र सहकार्यबाट संरक्षण, सम्बर्द्धनका कामहरु हुन्छन् ।’ प्रदेश सरकारले विश्व पर्यटन दिवसकाे सन्दर्भ पारेर ‘घुमाैं लुम्बिनी’काे लागि आह्वान गरेकाे थियाे ।
गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटमार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुका पुर्याउने याेजना अघि सारिएको हाे । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशकाे संकल्प पूरा गर्ने आधार कृषि, पर्यटन र उद्योगलाई मानिएको छ । पर्यटनमैत्री वातावर्ण निर्माणकाे जिम्मा सरकारले लिने मुख्यमन्त्री आचार्यकाे भनाइ छ ।