दाङ, १४ साउन । सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस-२०८१ का अवसरमा नेपाल निजामती कर्मचारी संगठन दाङले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दाङको धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संगठन दाङका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको प्रमुख आतिथ्यता एवम् संगठनका केन्द्रीय सदस्य (दाङ इन्चार्ज ) गोकर्ण ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा प्रसिद्ध धार्मिक तीर्थस्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा मन्दिर परिसर सरसफाइ र धार्मिक महत्त्व बोकेका विभिन्न वृक्षहरु रोपिएको थियो । सो अवसरमा पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शंकर गौतम, सदस्य विवेक श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य किरण अधिकारी, पेशागत महासंघ दाङका अध्यक्ष खिम बहादुर डाँगी, रास्ट्रसेवक बहुमुखी सहकारी संस्था दाङका अध्यक्ष गणेश दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद घर्ती पेशागत महासंघ नेपाल केन्द्रीय निर्वाचन आयोग सदस्य इश्वरा रावत, मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् समाजसेवी रेबबहादुर बुढाथोकीलगायत संगठनका विभिन्न जिम्मेवारीमा रहनुभएका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमका सहभागीहरुले मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै रुद्राक्ष , श्रीखण्ड, बेल, कपुरलगायतका ५० भन्दा बढी धार्मिक महत्त्व बोकेका बोटबिरुवाहरु रोपिएको थियो । संगठन दाङका सदस्य भूप बहादुर मल्लको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संगठन दाङका सहसचिव मोहनसिंह सुनारले गर्नुभएको थियो । उक्त कार्यक्रममा फोहोर व्यवस्थापनका लागि घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाले सरसफाइ गाडी र जनशक्तिको सहयोग गरेको थियो भने कार्यक्रमका अतिथि तथा सहभागीहरुका लागि मन्दिर व्यवस्थापन परिवारले धन्यवाद ज्ञापन गर्दै बिहानको सात्विक भोजनको व्यवस्थापन गरेको थियो ।