तुलसीपुर, १६ फागुन । तुलसीपुर उपमहानगरपालिकाले आधुनिक वधशाला निर्माणका लागि प्रारम्भिक चरणको छलफल सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले पश्चिम क्षेत्रका चारवटै पालिकाको सहकार्यमा वधशाला निर्माणका लागि पालिकास्तरीय छलफल गरेको छ ।
नगर प्रमुख टीकाराम खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा पालिकाले निर्माण गर्न थालेको औद्योगिकग्राम निर्माण स्थलभित्रै वधशाला बनाउने योजना रहेको छ । प्रमुख खड्काले स्वस्थ मासु खान पाउने उपभोक्ताको अधिकार सुनिश्चित गर्नका लागि उपमहानगरपालिकाभित्र आधुनिक वधशाला अनिवार्य रहेको बताउनुभयो । उहाँले तीन तहकै सरकार, व्यवसायी र पशुपालक किसानसँगको संयुक्त सहकार्यमा वधशाला निर्माण गरिने बताउनुभयो । नगर प्रमुख खड्काले वधशालाका लागि आवश्यक पर्ने विद्युत, खानेपानी, सडक पूर्वाधारको व्यवस्था रहेको समेत बताउनुभयो ।
वधशाला निर्माणका लागि प्राविधिक सहयोग गर्दै आएको हेफर इन्टरनेशनल नेपालका निर्देशक तीर्थराज रेग्मीले यस क्षेत्रमा मात्रै सात हजार बढी व्यवसायीक रुपमै पशुपालक किसान रहेको बताउनुभयो । उहाँले करिब साढे सात करोडको लागतमा प्रारम्भिक चरणमा खसी वधशाला निर्माण गर्न सकिने बताउनुभयो ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले आधुनिक वधशाला निर्माणका लागि पालिका सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले पालिका ग्रामीण क्षेत्रमा रहेको र अधिकांश पशुपालक किसान रहेकाले बजारका लागि आधुनिक वधशाला अनिवार्य रहेको बताउनुभयो । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले वधशाला निर्माणका लागि प्रक्रिया अघि बढाउनु पर्ने र त्यसमा मासु व्यवसायीहरुको समेत प्रत्यक्ष संलग्नता भए कार्यान्वयनमा सहज हुने बताउनुभयो ।
लेखा समितिका संयोजक घनश्याम ढकालले बजार क्षेत्र बढ्दै गएकाले तीनै तहका सरकारले आधुनिक व्यवस्थित वधशाला अनिवार्य रहेको बताउनुभयो । वडा नम्बर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले आधुनिक वधशाला निर्माणसँगै नजिकका जिल्ला र कर्णाली प्रदेशमा समेत मासु निर्यात गर्न सकिने बताउनुभयो ।
संस्थाले वधशालाको विस्तृत अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, वधशालामा राखिने उपकरणको प्राविधिक सहयोग गर्नेछ । वधशालामा शुरुमा खसी वधको काम अघि बढाइनेछ । त्यसपछि क्रमशः राँगा, भेडा, कुखुराका लागि निर्माण गरिनेछ । लुम्बिनी प्रदेशमा बुटवल उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले अत्याधुनिक वधशाला निर्माण गरिसकेका छन् । सार्वजनिक, निजी, उत्पादक साझेदारीको संयुक्त लगानीमा वधशाला निर्माण गरिनेछ ।
यस क्षेत्रमा अत्याधुनिक बधशाला नहुँदा अस्वस्थकर मासु नागरिकहरु बाध्य छन् । विज्ञका अनुसार अत्याधुनिक वधशालामा काटेको निरोगी पशुका मासु गुणस्तर परीक्षण गरी कम्तीमा माइनस १० डिग्री सेल्सियसको तापक्रममा २४ घन्टा डिप फ्रिजमा राख्नु पर्दछ । यसरी विधि प्रक्रिया पुर्याएको मासु मात्रै स्वास्थ्यका लागि हितकारक मानिन्छ । वि.सं. २०५५ मा बनेको पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन नहुँदा उपभोक्ताहरु दूषित मासु खान बाध्य छन् । फोहर र दूषित मासुमा साल्मोनेला, इकोलाई जस्ता मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने जीवाणु हुने गर्छ । यसले गर्दा पशुबाट मानिसमा रोग सर्ने र स्वास्थ्यमा असर पार्ने खतरा हुन्छ । अध्ययनबाट मानिसमा सर्ने रोगमध्ये ७५ प्रतिशतको कारण पशुपक्षी र तिनका मासु नै भएको देखिएको छ ।
वि.सं. २०५५ सालमा बनेको ऐनमा पशुपक्षी वध गर्नु पूर्व स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान छ । यसरी डिप फ्रिजमा राखिएको मासु मात्र बिक्री गर्न पाइने प्रावधान छ ।